कटारी नगरपालिका नेपालको प्रदेश नं. १ को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ । यस नगरपालिकाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ । पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको कटारी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । कटारी बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कटारी र त्रिवेणी गाउँ विकास समितिहरू समावेश गरिएको थियो र २०७३ मा आएर रिस्कु गाबिस , सिरिसे गाबिस, लिम्पटार गाबिस, सोरुङ्गछविसे गाबिस, हर्देनी गाबिस, मयाखु गाबिस र लेखानी गाबिस पनि कटारी नगरपालिकामा समावेश गरिएको छ।
यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक कटारी नगरपालिकाको कार्यालय रहेको स्थान कटारी वजारमा रहेको छ । कटारी नगरपालिका ८६°२५’ पूर्व देखि ८६°३३’ देशान्तर र २६°३९’ उत्तर देखि २६°५१’ उत्तर अक्षांस बीचमा अवस्थित छ। यस नगरपालिकाको जम्मा क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर छ भने समूद्र सतह बाट करिव १११ मिटर देखि २१०४ मिटर सम्म उचाई रहेको छ । नगरपालिकाको जलवायु उष्ण समशितोष्ण र उष्ण शितोष्ण रहेको छ भने वार्षिक औसत तापक्रम २२.८°C र वार्षिक औसत वर्षा करिव १६९१ मिलिमिटर छ । यस नगरपालिकामा जम्मा जनसंख्या ५६१४६ (महिला २९४२० र पुरुष २६७२६) छन् । यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन् । महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ ।
१. संक्षिप्त परिचयः
प्रदेश: प्रदेश नं. १
विकास क्षेत्रः पूर्वांचल
अंचलः सगरमाथा
जिल्लाः उदयपुर
स्थापना वर्षः वि. सं. २०७१
वडा संख्याः १४
जम्मा जनसंख्या: ५६,१४६ (२०६८ को जनगणना अनुसार )
समावेश गाविस: रिस्कु, लेखानी, मयंखु, हर्देनी, लिम्पाटार, सोरुङगछविसे, सिरिसे गा.वि.स. र कटारी नगरपालिका
जम्मा क्षेत्रफल: ४२४.८९ ( वर्ग कि.मी.)
२. प्रमुख विशेषताः
क) ऐतिहासिक त्रिवेणी मेला
ख) कटारी बजार
ग) साप्ताहिक शुक्रबार हाटबजार
घ) तावा नदी
ङ) कमला नदी
३. भौगोलिक अवस्थाः
हावापानीः समशीतोष्ण मनसुन
प्रमुख नदीनालाः कमला नदी, तावाखोला, ककुर खोला र मरुवा खोला
४. नगर सिमानाः
पुर्वः उदपुरगडी गाउपालिका र ताप्ली गाउपालिका
पश्चिमः सिन्धुलीको दुधौली नगरपालिका
उत्तरः मानेभन्ज्याङ गाउपालिका, हलेसी तुवाचुंग नगरपालिका
दक्षिणः मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका